दफा १०
प्रारम्भिक अनुसन्धान प्रतिवेदन पठाउने
(१) अनुसूची–१ वा अनुसूची–२ मा उल्लिखित कुनै कसूरको जाहेरी दरखास्त वा सूचना दफा ४ बमोजिम दर्ता हुनासाथ त्यस्तो कसूरको अनुसन्धान गर्न तोकिएका प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले तुरुन्त प्रारम्भिक अनुसन्धान गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रारम्भिक अनुसन्धान शुरु गरेपछि त्यस्तो प्रहरी कर्मचारी वा अनुसन्धान अधिकारीले सोको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा तीन दिनभित्र पठाउनु पर्नेछ ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागि “प्रारम्भिक अनुसन्धान” भन्नाले घटनास्थल विवरण, कसूर भएको स्थानको वस्तुस्थिति मुचुल्का, खानतलासी वा बरामदी मुचुल्का वा ज्यान मरेको कसूर भए लास जाँच मुचुल्का तथा अन्य कसूर भए त्यस्तो कसूरको प्रकृति अनुसार तयार गर्नु पर्ने प्रतिवेदन, मुचुल्का वा अन्य आवश्यक विवरणलाई सम्झनु पर्छ ।
(३) उपदफा (१) बमोजिम प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि सरकारी वकिलले त्यसको अध्ययन गरी कसूरसँग सम्बन्धित कुनै विषयमा थप अनुसन्धान गर्न अनुसन्धान अधिकारीलाई आवश्यक निर्देशन दिनु पर्ने देखिएमा त्यसको कारण खुलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम दिएको निर्देशनको पालना गर्नु सम्बन्धित अनुसन्धान अधिकारीको कर्तव्य हुनेछ ।